
पाल्पा, पाल्पा जिल्लामै पहिलो पटक नयाँ प्रजातिको मलाई नामक घाँस उत्पादन सुरु भएको छ । रामपुर नगरपालिका–६ स्थित श्रीकृष्ण उन्नत भैंसी विकास बीउविजन स्रोत केन्द्रमा परीक्षणका लागि सुरु गरिएको घाँसको उत्पादन सफल भएको छ ।
स्रोतकेन्द्रका सञ्चालक कृष्णकुमार अर्याल र मिना अर्यालले नयाँ प्रजातिको घाँस लगाएका हुन् । भारतबाट बीउ खरीद गरी तीन महिना अघि छरेको घाँस अहिले उत्पादन लिइरहेको कृष्णकुमार अर्यालले बताए । परीक्षणका लागि लगाइएको नयाँ प्रजातिको मलाई घाँसको उत्पादन अत्यन्त पाइएको छ ।
अर्यालले करिब तीन रोपनी क्षेत्रफलमा १७ किलो घाँस लगाएका छन् । ‘नयाँ प्रजातिको घाँस कस्तो हुन्छ भनेर परिक्षणका लागि मात्र ल्याएर लगाएको अत्यन्तै राम्रो लाग्यो’ –उनले भने । उनले स्रोतकेन्द्रमा घाँस हेर्न जानेको चहलपहल बढेको छ ।
नयाँ नयाँ कुरामा निकै जिज्ञासा राख्ने अर्यालले नयाँ घाँसको बिउ खोजी गर्ने क्रममा यो घाँस फेला परेको बताए । मलाई घाँस पशुका लागि अत्यन्तै पोसिलो मानिने मानिन्छ । ‘यस घाँसको सेवनबाट पशुले दूध उत्पादन बढाउँदै गएको छ, पशु आहाराका लागि अत्ति उत्तम रहेको छ’ अर्यालले भने । छरेको ३० देखि ४० दिन भित्रमा उत्पादन लिन सकिन्छ ।
थोरै ठाउँमा धेरै उत्पादन लिन सकिने हुँदा कृषकले यस घाँसबाट राम्रो लाभ लिन सक्छन् । अन्य घाँसको तुलनामा मलाई घाँस दुधालु पशुका लागि उत्तम मानिने पशु स्वास्थ्य प्राबिधिकहरू बताउँछन् ।