
बुटवल, माघ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ र बुटवल उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा बुटवलमा अहिले कृषि मेला–२०७५ जारी छ ।
बुटवल मण्डपमा जारी कृषि मेलाले किसान देखि उपभोक्ताको बीचमा एउटा सेतु (संयोजक) को रूपमा काम गरेको छ । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला मुल आयोजक समितिका संयोजक खेम बहादुर हमाल किसान र व्यापारीको बीचमा पुलको रूपमा काम गरेको बताउँछन् ।
उनका अनुसार विगत लामो समयदेखि कृषि मेला बुटवल उवासंघले मात्रै गर्दै आएकोमा यस पटक प्रदेश नम्बर ५, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले साथ दिएको छ । मेलामा विभिन्न प्रकृतिका १ सय २६ वटा स्टलहरू रहेका छन् । जसमा किसानहरूले उत्पादन गरेका विभिन्न उत्पादनहरू रहेका छन् । रूपन्देहीको मोतिपुरमा रहेको आर्गानिक तरकारी खेती देखि लिएर देवदहका किसान थम बहादुर वलीले गर्दै आएको अर्गानिक तरकारी समेत मेलामा राखिएको छ ।
मेलामा किसानहरू सँगै विद्यार्थीहरूले समेत आ–आफ्नो प्रदर्शन राखेका छन् । निजी तथा आवाशिय विद्यालय अर्गनाईजेसन (प्याब्सन) र राष्ट्रिय नीजि तथा आवशिय विद्यालय अर्गनाईजेसन एन प्याब्सन अन्तरगतका विद्यार्थीहरूले निर्माण गरेको कृषि जन्य उपकरणको नमुना देखि लिएर नेपालकै नमुना फर्मको रूपमा रहेको माटो विना नै तरकारी फलाउने प्रविधि ‘हाईड्रोफोनिक प्रविधि’ समेत प्रदर्शनमा राखिएको छ ।
नमुनाको रूपमा रहेको उक्त फर्म हेर्न जाने दर्शहरूको भिड रहेको पाईएको छ । माटोविनै तरकारी फलाउन थालिएको छ भन्दा धेरैलाई अचम्मको किसिमको माटोविना तरकारी खेतीमा चासो देखिएका हुन । रूपन्देहीको तिलोत्तमा–३ विष्णुपुरामा लुम्बिनी हाइड्रोपोलिक नेपाल नाम कृषि फर्म स्थापना गरी युवा कृषक ईश्वर पौडेल नेतृत्वमा माटोविना नै तरकारी खेती सुरू गरेका थिए । मेला महोत्सवमा राखिने उनको प्रविधि हेर्न लामै भिड समेत लाग्ने गरेको छ ।
होटल म्यानेजमेन्ट अध्ययन गरेका पौडेल १० वर्ष अगाडि रोजगारीको सिलसिलामा ओमन पुगेका थिए । जसबाट उनले सिकेर आफ्नै फर्म समेत स्थापना गरेका हुन् । यो खेतीमा नरिवलको जट्टा पिसेर बनाइएको कोकोपिट मसिनो धुलो गमलामा राखिन्छ । टनेलभित्र बिरूवा लगाइसकेपछि त्यसलाई हुर्कनका लागि आवश्यक पर्ने पोषक तत्व राखिन्छ । यो खेतीमा पौडेलसहित पिताम्बर आचार्य र पुष्पा आचार्य क्रियाशील छन्
यस्तै मेलामा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा पालिएको अफ्रिकाबाट मगाइएको १०० प्रतिशत बोयर बोका समेत राखिएको छ । कुल १ सय ८५ किलोको बोका मुख्य आकर्षक समेत रहेको छ । यस्तै मेलामा छपियाको माछाको परिकारहरू समेत रहेका छन् । गंगा सापकोटाको सक्रियतामा छपियाको माछा विक्रि, प्रदर्शनी तथा परिकारहरू समेत राखिएका छन् ।
यस्तै यस क्षेत्रमा नमुना फर्मको रूपमा रहेको गुल्मी जिल्लाको चिसो पानीमा गरिएको माछा समेत विक्रिको लागि राखिएको छ । उच्च क्षेत्रमा चिसो पानीमा हुर्कीएको स्वादिष्ठ माछा उपभोक्ताको रोजाईमा पर्ने गरेको माछा व्यवस्थापन गर्दै आएका संयोजक गंगा प्रसाद सापकोटा बताउँछन् ।
मेलामा किसानका लागि उन्नत जातका बिउ विजन सरल र सहज रूपमा पु¥याउने उद्देश्यले स्थानीय रूपमा उत्पादित विभिन्न उन्नत जातका विउविजनहरूको प्रदर्शनी एवं विक्री वितरण गर्ने उद्देश्यले मेला स्थलमा छुट्टै पेभिलियनको व्यवस्था मिलाइएको छ । जसअन्तर्गत रोल्पा र म्यादी जिल्लाका विउविजनतर्फ मार्फा रायो, टेक्सानी मुला, स्नुगर काउली, खुमल रायो, मुनावर्ती मुला, चालिस दिने मुला, चौमासिक सिमि, केराउ, धान, गहुँ लगायत अन्य विउविजनको खरिद मेला स्थलबाट गर्न सकिनेछ ।
स्थानीय कृषि उपज उत्पादनहरू माछा, च्याउ, कोदो, केरा आदिका विविध खानामा परिकारहरू उपभोक्तामाझ पस्किने हिसावले खाना महोत्सवको आयोजनाको व्यवस्था मिलाइएको छ । पशुपंक्षी परामर्श सेवा, बजार व्यवस्थापन, पालन विधी, खोप तथा खोरको बारेमा जानकारी, रासायनिक मिसावट पत्ता लगाउने घरायसी उपायहरू बारे जानकारी, व्यवसायिक कृषि बहस, अन्तरक्रिया गोष्ठी, जारी रहेका छन् । कृषि पेशामा व्यवसायिकता बढ्दै जाँदा माटोमा अम्लियपना वृद्धि हुनुका साथै माटोको उर्वरा शक्तिमा हृास आई उत्पादन एवं उत्पादकत्वमा प्रतिकुल असर परेको भन्दै किसानहरूबाट ल्याएको माटो निःशुल्क परिक्षण समेत गरिएको छ ।
किसानका लागि उन्नत जातका बिउ विजन कार्यक्रमबाट रोल्पा र म्याग्दी जिल्लाका विउविजन मार्फा रायो, टेक्सानी मुला, स्नुगर काउली, खुमल रायो, मुनावर्ती मुला, चालिस दिने मुला, चौमासिक सिमि, केराउ, धान, गहुँ लगायत अन्य विउविजनको खरिद मेला स्थलबाट विक्रि राखिएको छ ।
मेलामा बोटविरुवा परिक्षण समेत गरिएको बुटवल उवासंघका उपाध्यक्ष हरि प्रसाद अर्यालले बताए । किसानहरूको बालीनालीमा लागेको रोग विषादीको उपचारका लागि मेला स्थलमा बोटविरुवा स्वास्थ्य परिक्षण शिविर संचालनको व्यवस्था मिलाएको उनको भनाई रहेको छ ।
कृषि समितिका संयोजक बसन्त ढकालका अनुसार किसानहरूले लिएर आएका रोग विषादी लागेको बोटविरुवाहरूको वनस्पति विज्ञहरूद्वारा परिक्षण गरी समस्याको पहिचान गर्ने व्यवस्था एवं कृषि सम्बन्धी अन्य परामर्शको व्यवस्था मिलाइएको हो । यस्तै नेपाल सरकारले कृषि क्षेत्रका लागि ल्याएको सहुलियत पूर्ण ऋण र ब्याज अनुदान तथा कृषि विमा सम्बन्धी सेवाहरू वित्तिय तथा बीमा संस्थानहरूबाट सरल र सहज रूपमा प्राप्तीका लागि वित्तिय र बिमा संस्थाहरूको स्टल राखी सेवा सम्बन्धि विस्तृत जानकारी दिने व्यवस्था मिलाइएको छ ।
मेलामा कृषि संग्राहलयमा समेत दर्शकहरूको ध्यान गएको छ । अर्घाखाँची जिल्लाको खिल्जी को गाउँबाट ल्याएको विभिन्न कृषि जन्य उपकरणहरूको साथै प्राचिन, पौराणिक औजारहरू समेत प्रदर्शनको लागि राखिएको हो । टर्कि, लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी समेत गरिएको छ । वि.संं. २०१० सालमा स्थापित बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीले उद्योग वाणिज्य क्षेत्रको विकासका साथसाथै कृषि क्षेत्रको व्यवसायीकरणका लागि विभिन्न किसिमका प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । संघले वि.सं. २०४१ साल देखि काठमाण्डौं उपत्यका बाहिर सर्वप्रथम औद्योगिक मेला आयोजनाको सुरुवात गरी हाल सम्म १७ वटा मेला तथा महोत्सव सम्पन्न गरिसकेको छ ।
संघको आयोजनामा कृषि मेलाको शुरुवात २०६२ सालबाट शुरु गरि विभिन्न समयको अन्तरालमा ८ वटा कृषि मेला सफलतापूर्वक सम्पन्न गरिसकेको छ । नेपाल सरकार, कृषि विकास मन्त्रालयसँगको संयुक्त आयोजनामा छैठौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला र एघारौं राष्ट्रिय प्राङ्गारिक कृषि मेला बुटवलमा सफलतापूर्वक सम्पन्न गरिसकेको पृष्ठभूमिमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. ५ र बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको संयुक्त आयोजनामा संघको नवौं कृषि मेला २०७५ को आयोजना गरेको हो । soure: Butwal today