
धनगढी, कैलालीमा गोब्रे च्याउको माग बढेको छ । च्याउ खाने परिपाटीको विकाससंगै यहाँको बजारमा गोब्रे च्याउको माग पनि बढेको हो ।
धनगढी उपमहानगरपालिका–१२ जुगेडामा रहेको ओम केदार च्याउ तथा तरकारी फर्मले व्यावसायिक रुपमा च्याउ उत्पादन गर्दै आएको छ । यसका साथै, च्याउ प्रशोधन पनि गर्ने गर्दछ ।
गोब्रे र कन्ये दुवै च्याउ उत्पादन गर्दै आएको फर्मले गोब्रे च्याउको माग धान्नै मुश्किल भएको जनाएको छ । माग दिनहुँ बढ्दै गएको फर्मका प्रबन्धक राजु पुनमगरले जानकारी दिए । उनका अनुसार माग अनुसार गोब्रे च्याउ उत्पादन हुन सकेको छैन ।
‘हामीले माग अनुसार च्याउ पु¥याउनै मुस्किल छ’, पुनमगरले भने–‘यहाँको मागलाई धान्ने गरी अहिले उत्पादन गर्न सकिरहेका छैनौं ।’
ओम केदार च्याउ तथा तरकारी फर्मले दैनिक बढीमा ५० किलो गोब्रे र तीन क्वीन्टल कन्ये च्याउ बजारमा पठाइरहेको छ । कन्ये च्याउ अन्यत्र पनि उत्पादन भइरहेकाले यसको भन्दा गोब्रे च्याउको माग अत्यधिक रहेको पुनमगरले बताए । ‘कन्ये त बजारमा छ्याप्छ्याप्ती छ’, उनले अगाडि थपे–‘त्यसैले गोब्रेको माग धान्न मुस्किल भएको हो ।’
यो फर्मले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो च्याउ प्रशोधन उद्योग पनि सञ्चालन गर्दै आएको छ । यो वर्षबाट कन्ये च्याउ प्रशोधन गरेर सुकुटी र पाउडर बनाउने काम भइरहेको छ । अहिलेसम्म तीन क्वीन्टल जति कन्ये च्याउको सुकुटी बनाएर प्रशोधन गरिएको फर्मले जानकारी दिएको छ ।
ओम केदार च्याउ तथा तरकारी फर्मले यो सिजनमा गोब्रे २० टन र कन्ये ३० टन गरी ५० टन च्याउ उत्पादन गर्ने लक्ष्य राखेको छ । माघको दोस्रो सातासम्म दुवै च्याउ गरेर ६० क्वीन्टल बजारमा बिक्री भइसकेको जनाइएको छ ।
यहाँ उत्पादन भइरहेको च्याउ कैलालीको धनगढी, अत्तरिया बजारसहित पहाडी जिल्ला डडेल्धुरा, दार्चला, बैतडी, डोटीसम्म पुगिरहेको छ । गोब्रे च्याउ थोकमा प्रतिकिलो दुई सय ५० रुपैयाँँ, खुद्रामा तीन सय रुपैयाँँ र कन्ये प्रति किलो एक सय २० रुपैयाँमा बिक्री गरिरहेको प्रबन्धक पुनगमरले जानकारी दिए । उनले यो सिजनमा करिब ६० लाख रुपैयाँ बराबरको च्याउ कारोबार गर्ने लक्ष्य लिएको जनाए ।
ओम केदारले तीन सय मेट्रिक टन कम्पोष्टमा गोब्रे र पाँच हजार बलमा कन्ये च्याउको खेती गरेको छ । विगत पाँच वर्षदेखि व्यावसायिक च्याउ खेती गर्दै आएको सो फर्मले यसवर्ष करिब ५० लाख रुपैयाँँ उत्पादन क्षेत्रमामात्रै लगानी गरेको छ । यसैगरी, प्रशोधन केन्द्रको मेशिनरी उपकरणमा डेढ करोड लगानी भइसकेको जनाइएको छ ।
जुगेडाका कमलबहादुर घर्तीमगरले व्यक्तिगत लगानीमा व्यावसयिक च्याउ खेती थाल्नु भएको हो । प्रशोधन केन्द्रको लगानीमा भने मझौला तथा साना कृषक आयस्तर बृद्धि आयोजना को सहयोग रहेको छ । उक्त फर्ममा अहिले प्राविधिकसहित आठ जनाले पूर्णकालीन रोजगारी पाएका छन् ।
फर्म सञ्चालक कमलबहादुर घर्तीमगरले विगत एक दशकदेखि जुगेडामा च्याउको व्यावसायिक खेती गर्दै आएका थिए । २०७१ सालमा भने फर्म दर्ता गरेर उनले यहि कार्यलाई निरन्तरता दिए । अहिले ओम केदार च्याउ तथा तरकारी फर्म प्रदेशकै ठूलो च्याउ उत्पादन तथा प्रशोधन उद्योग बनेको छ । च्याउ खेतीकै लागि यसमा लगानी पनि ठूलो रहेको छ ।
नेपाल भारतको विभिन्न ठाउँमा गरिएको च्याउ खेतीको अवलोकन र विश्वविद्यालयहरुमा परामर्श लिएरमात्रै यहाँ व्यावसायिक च्याउ खेती गरेको सञ्चालकले जनाए । यहाँ उत्पादन भएको च्याउ भविष्यमा नेपालको विभिन्न सहरसहित भारतको पलिया, दिल्ली लगायतका ठाउँमा पु¥याउने लक्ष्य रहेको जनाइएको छ । BY:pashim today daily