
काठमाडौं कफीमा लगानी आकर्षित गर्ने उद्देश्यले आगामी फागुन महिनामा पहिलोपल्ट राजधानीमा राष्ट्रिय लगानी सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग बढ्दै गएको तर उत्पादन न्यून भएकाले उत्पादन बढाउने उद्देश्यले सम्मेलन हुन लागेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग वार्षिक ८०० मेट्रिकटन भएपनि उत्पादन ५१३ मेट्रिकटनमा सीमित छ । बोर्डको आयोजना र युरोपेली सङ्घअन्तर्गत ‘टिपिएचडी’ को आर्थिक तथा प्राविधिक सहयोगमा सो सम्मेलन हुने भएको हो ।
नेपालमा अराविका जातको कफी खेती हुन्छ । सो कफीको माग कोरिया, जापान, जर्मनी र अमेरिकाबाट धेरै भएको छ । मागलाई पूरा गर्न एवं कफीको उत्पादन बढाउन लगानी सम्मेलन अपरिहार्य भएको बोर्डका प्रवक्ता दीपक खनालले जानकारी दिए ।
नेपालका ४३ जिल्लामा साना किसानले व्यावसायिक कफी खेती गर्दै आएका छन् । आर्थिक वर्ष ०७४र०७५ मा ५३ हजार रोपनीमा कफी खेती गरिएको थियो । सोही वर्ष नौ करोड ३७ लाख २५ हजार रूपैयाँको कफी निर्यात गरिएको थियो भने छ करोड ५८ लाख ९१ हजार रूपैयाँ बराबरको आयात भएको थियो ।
गत तीन वर्षको तथ्याङ्क हेर्दा कफीको माग धेरै भए पनि उत्पादन कम देखिन्छ । आव ०७१र०७२ मा दुई करोड ४९ लाख ९१ हजार रूपैयाँको निर्यात र नौ करोड ९१ लाख ७६ हजार रूपैयाँको आयात भएको थियो ।
आव ०७२र०७३ मा निर्यात पाँच करोड ५४ लाख ४१ हजार रूपैयाँ र आयात १० करोड ७९ लाख रूपैयाँ थियो भने आव ०७३र०७४ मा निर्यात पाँच करोड चार लाख रूपैयाँ र आयात आठ करोड ४५ लाख ३८ हजार रूपैयाँको भएको थियो ।
बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत आवदेखि आयातको तुलनामा निर्यात बढेको देखिन्छ । करीब ९० लाख हेक्टरमा कफी खेती गर्न सकिने भए पनि आव ०७१र०७२ मा दुई हजार ३८१ हेक्टर, ०७२र०७३ मा दुई हजार ६१८ हेक्टर, ०७३र०७४ मा दुई हजार ६४६ हेक्टर र ०७४र०७५ मा दुई हजार ६५० हेक्टरमा कफी खेती गरिएको थियो ।
नेपालमा पछिल्लो चार वर्षमा कफीको उत्पादन स्थिर देखिन्छ । आव ०७१र०७२ मा ४६३, ०७२र०७३ मा ४३४, ०७३र०७४ मा ४६६ र ०७४र०७५ मा ५१३ मेट्रिकटन कफी उत्पादन भएको थियो । रासस