बुटवल, रोजगारीको लागि लाखौं युवा विदेश पसेका छन् । नेपालको पहाडी भेगमा खेतबारी भने धेरै बाँझिएका छन् । तर ब्यवसायिक कृषि गरेर नेपालमै आत्मनिर्भर हुन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बन्नुभएको छ युवा कृषक राजु कार्की ।
पाँच नम्बर प्रदेशको राजधानी रूपन्देहीको छिमेकी पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं. ५ मुझुङ निवासी युवा कृषक राजु कार्कीको सुन्तला बगान हेर्न लायक छ । उनको सुन्तला बगान हेर्न धेरै मानिसहरू पुग्ने गरेका छन् ।
थ्रीसन नामको कृषि फर्म स्थापना गरेर राजुले विगत दश वर्षदेखि ब्यवसायीक रूपमा सुन्तला खेती गर्दै आएका छन् । उनको बारीमा अहिले दुई सय ५० वटा रुख लटरम्म सुन्तला झुलेका छन् । सुन्तलाले हाँगाहरू नुगेका छन् । यो एक कृषि पर्यटनको केन्द्र जस्तै बनेको छ ।
४० वर्षीय युवा राजुले सुन्तला खेतीबाट वार्षिक तीन लाखसम्म आम्दानी गर्ने गरेको बताए । उनले ले भने– ‘रोगकिराबाट बचाउन सके आम्दानी राम्रो हुन्छ, वार्षिक दुईदेखि तीन लाखसम्म आम्दानी गरेको छु ।’
सुन्तला ढुवानीको लागि दुईवटा मिनी ट्रकसमेत खरिद गरेका राजुको मुख्य बजार भने बुटवल हो । सुन्तलासंगै तरकारी खेती र कुखुरापालन समेत गरेका राजुका दुईवटा गाडीले पुरा काम पाएका छन् ।
तीनवटा आधुनिक खोर बनाएर बोइलर कुखुरा पालेका कार्कीले अहिले २५ सय कुखुराको दानापानी गर्दै आएका छन् । यसमा उनलाई परिवारको साथ छ । दुईतलासम्मको खोर निर्माण गरेर आधुनिक तवरले कुखुरापालन गरिएको छ ।
रोगब्याधीबाट जोगाउन सके एकहजार कुखुराबाट करिब दुई लाखसम्म नाफा कमाउन सकिने उनले जानकारी दिए । बजार अस्थिर हुँदा कुखुरापालक किसानलाई भन्दा बिचौलीयालाई बढी फाइदा हुने गरेका उनको तर्क छ । मासु ब्यवसायीसंग सिधा सम्पर्कमा काम गर्नसके किसानलाई राहात हुने उनको भनाई छ । तरकारी खेतीमा राजुले काउली, गोभी, टमाटर, बकुला लगायतको उत्पादन गर्दै आएका छन् । । तरकारी खेतीबाट पनि राम्रो आम्दानी हुन उनले जानकारी दिए ।
सुन्तला, तरकारी र कुखुरा ढुवानीको लागि राजुले दुईजना युवालाई रोजगारी पनि दिएका छन् । ।
बाँकी काम आफू र परिवारले गर्ने गरेको कार्कीले बताएका छन् । बुवाआमासहित सात जनाको परिवारले राजुलाई साथ दिएका छन् । परिवारकै परिश्रमले ब्यवसायीक कृषिमा सफलता मिलेको राजुकी श्रीमति सृजना कार्कीले उल्लेख गरे । यस क्षेत्रका सफल युवा कृषक कहलीलिएका उनी पौरख देखेर गाउँलेहरू पनि दंग छन् । परिवार पनि खुसी छ ।
रोजगारीकालागि दैनिक हजारौंको संख्यामा विदेशीने युवाले राजुको यो पौरखबाट पाठ सिक्नसके देशको आर्थिक समृद्धिमा समेत टेवा पुग्नेछ ।