नेपालगञ्जमा भारतबाट गुणस्तरहीन दूध ल्याउन रोक

  • भन्सारलाई चुनौती दिदै छोटी नाकाबाट दूध भित्र्याउन थाले
  • नेपालगञ्ज – नेपालगञ्ज भन्सार कार्यालयले गुणस्तर परीक्षण र भन्सार गरेर मात्रै दूध भित्रिन दिने नीति बनाएपछि सिधा बाटोबाट दूध भित्रिन छोडेको छ ।
    भारतीय दूध व्यवसायीले भन्सारलाई चुनौती दिदै छोटी नाकाबाट नेपालगञ्जमा दूध भित्र्याउन थालेका छन् । व्यवसायीले बिहान ल्याइरहेको दूध अहिले दिउँसो ल्याउने गरेका छन् ।

    भारतबाट नेपालगञ्जमा भित्रिने दूध गुणस्तरहीन भएको व्यापक गुनासो आएपछि भन्सारले उक्त नीति अघि सारेको हो । नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले भारतबाट दूध ल्याउन रोकेको नभई गुणस्तरीय र भन्सार गरेर भित्र्याउन आग्रह गरेको बताए ।

    ‘नेपालमा गुणस्तरहीन दूध आइरहेको छ भन्ने व्यापक गुनासो आयो । त्यही भएर हामीले गुणस्तर परीक्षण गरेको रिपोर्ट देखाई भन्सार गरेर दूध भित्र्याउन भनेका छौं, भन्सार प्रमुख निरौलाले भने, गुणस्तरहीन दूध ल्याएर जनस्वास्थ्यमा खेलवाड गर्न त पाइएन नि ।’

    भारतबाट नेपालगञ्जमा दैनिक एक हजार तीन सय लिटर आउने गर्दछ । बजारका अधिकांश घरधनी र रावडी, दही, मिठाई बनाउने पसलेले सस्तो पर्ने नाममा भारतबाट आएको दूध लिने गरेका छन् । भन्सारले कडाई गरेपछि चोरी नाकाबाट दूध ल्याउदा ढिलाई हुने भएकाले यहाँका व्यवसायीहरु समस्यामा परेका छन् ।

    दूधको परीक्षण गर्ने निकाय क्वारेन्टाइन कार्यालय हो । क्वारेन्टाइनसँग दूधको गुणस्तरीय जाँच गर्ने मिल्क एनालाइजर छैन । क्वारेन्टाइनसँग ल्याक्टोमिटरसम्म जाँच गर्ने मेसिन भएपनि त्यो भरपर्दो नभएको कार्यालयका प्रमुख डा। शितलबाबु श्रेष्ठ बताउँछन् ।

    सरकारले दूध परीक्षण गर्ने मेसिन नराख्ने र परीक्षण नगरी दूध भित्रिन दिदैनौ भन्नु नमिल्दो कुरा भएको नेपालगञ्जका एक दूध, दही व्यवसायीले बताए । नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘हामीकहाँ दैनिक ठूलो मात्रामा भारतबाट दूध आउँछ । मैले दूध परीक्षण गरेर ल्याउन भनेको छु । क्वारेन्टाइनसँग जाँच गर्ने मेसिन छैन । अब कहाँबाट परीक्षण गरेर ल्याउने ?’

    सीमावर्ती बजार भएकाले यताको दूध उता र उताको दूध यता आउनु सामान्य नै मानिन्छ । तर, दूधको परीक्षण भने गर्नै पर्छ । गुणस्तरहीन दूध खुवाएर जनस्वास्थ्यमा खेलवाड गर्न पाइँदैन । नेपालगञ्जका डेरी सञ्चालकहरुले यो कुरा भन्दै आएका छन् ।
    देशसञ्चारबाट

    © 2022 krishipatra All right reserved