राना दम्पतिको आम्दानीको स्रोत बन्योः बाख्रापालन

  • दुईसारो लाउन र एक छाक खान कसैसंग गुहार माग्नुपर्दैन
  • बुटवल, चितवनको कालिका नगरपालिका–८, देवीटारका राना दम्पतिहरूले बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गरेका छन् ।
    विगतका केही वर्षदेखि व्यवस्थित रूपमा बाख्रापालन व्यवसाय सुरु गरेका उनीहरू सोहीबाट नै राम्रो आम्दानी गर्नुको साथै स्वरोजगार समेत बनेका छन् ।
    २०६५ सालबाट बाख्रा पाल्न सुरु गरेका खिर बहादुर राना र जग कुमारी राना दम्पतीले बाख्रापालनबाट नै आफ्नो जीवन परिवर्तन भएको बताउँछिन् ।

    ‘हेफर इण्टरनेशनल नेपालले लगनशील सामाजिक उद्यम महिला समूहमार्फत प्रदान गरेको ५ वटा बाख्राबाट व्यवसाय सुरु गरेका हौँ । अहिले हामीसँग आफ्नै ४१ वटा बाख्रा छ,’–जगकुमारीले भनिन् । विभिन्न समयमा हेफरबाटै बाख्रापालनसम्बन्धी आवश्यक तालिम लिएसँगै उनीहरूले व्यवस्थित खोर बनाई व्यवसायिक रूपमा बाख्रापालन व्यवसाय अघि बताएका छन् ।

    ‘तालिम लिएपछि व्यवस्थित खोर बनाइयो । बिहान–बेलुकी खोर सफा गर्न थालियो । त्यसपछि, बाख्रामा लाग्ने रोगमा कमी आयो,’ व्यवस्थित खोर बनाएर बाख्रा पाल्दाको फाइदाबारे जगकुमारीले भनिन् । – ‘बाख्रालाई रोग लाग्दा उपचार गर्नुपर्ने खर्च पनि कम हुन गयो । अहिले बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ ।’
    सबेरै उठ्नु, खोर सफा गर्नु, बाख्रालाई घाँस–कुँडो गर्नु अनि दिउँसो बाख्रालाई जंगलमा चराउन लैजानु उनीहरूको दैनिकी हो ।
    ‘माउ बाख्रा मात्रै जंगलमा चराउन लैजान्छौँ । खसीबोका घरमै राखेर पाल्छौँ,’ जगकुमारीले सुनाइन् । माउ बाख्रा, खसी र बोकालाई उहाँहरूले छुट्टाछुट्टै राखेर पालेका छन् ।

    बाख्रापालन व्यवसाय उनीहरूले करिव ३ लाख जति महिनामा बचत गर्दै आएका छन् ।
    ‘वर्षमा ५ लाखजति आम्दानी हुन्छ । सबै खर्च कटाउँदा झण्डै ३ लाख रूपैयाँ त वर्षमै बचत हुन्छ,’ स्थलगत भ्रमणका क्रममा घरमै आएका १३ जिल्लाका पत्रकारहरूलाई उनले भनिन् ।

    बाख्रापालनबाटै आएको कमाइले ५ कठ्ठा जमिन समेत जोडेका छन् । दुई कोठे चिटिक्क परेको घर पनि बनाएका छन् । बाख्रालाई चाहिने घाँसको लागि उनीहरूले १० कठ्ठा जमिन भाडामा लिई टाँकी, खनायो लगायतका घाँस खेतीसमेत गरेका छन् ।

    महिलाहरूले सञ्चालन गरेको लगनशील सामाजिक उद्यम महिला समूहमा उत्पादन संकलन गरेर बिक्री हुँदै आएको छ । समूहमा आबद्ध भएर मगर दम्पतीबाहेक अन्य महिला दिदीबहिनीहरूले पनि कुनै न कुनै व्यवसायिक कृषि कर्म गर्दैै आएका छन् ।

    हेफर इन्टरनेशनल नेपालले महिलाहरूले सुरु गरेको समूहको सवलीकरण र कृषकको उत्पादनको बजारीकरणमा काम गर्दै आएको हेफर इण्टरनेशनल नेपाल, भरतपुर क्लष्टरका कार्यक्रम अधिकृत विष्णु पाण्डेले बताए । लगनशील सामाजिक उद्यम महिला समूहमा ४१२ जना महिला सदस्य रहेका छन् । समूहमा आबद्ध सदस्यहरूलाई समूहले व्यवसायिक तरकारी खेती, कुखुरापालन र बाख्रापालनमा लगानी गर्दै आएको छ ।

    © 2024 krishipatra All right reserved